काठमाडौं, ८ पुस : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गरेका थिए ।
स्रोतका अनुसार ‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्यो, मैले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छु’, ओलीको भनाइ छ । सोही जवाफमा थापाले ओलीको प्रस्ताव सकारात्मक रहेको र आफूले छिट्टै निर्णय लिने बताएको पनि स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् भङ्ग भएपछि नेकपामा दुई टुक्रामा विभाजित भएको छ । तर सचिवालय सदस्यहरू वामदेव गौतम र रामबहादुर थापा तटस्थ बसेका छन् । दुवै समूहले उनीहरूलाई आफ्नो समूहमा ल्याउन पहल गरिरहेका छन् ।
मंगलबार र सोमबार नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई निवासमै पुगेर सहकार्यको प्रस्ताव गरिसकेका छन् । बुधबार भने ओलीले नै थापालाई फोन गरेर बालुवाटार बोलाएका थिए । थापालाई उनी पक्षीय केन्द्रीय सदस्यले ओलीको कदमलाई साथ नदिन आग्रह गरिसकेका छन् ।