काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा त्यसबारे पार्टीले शशक्त प्रतिरोध गर्नुपर्ने बताएका छन्।
आज केन्द्रीय समिति बैठकमा धारणा राखेका नेता महतले संसद भंग गर्न सिंगो कम्युनिष्ट पार्टीका नेताहरू नै सक्रिय रहेकोले यो वा त्यो खेमासँग सहकार्य गरेर भन्दा पनि कांग्रेस एक्लै विरोधमा उत्रिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार प्रतिनिधिसभा संसद भंग गरेकोले सडकबाट प्रदर्शन गर्नुपर्ने महतको भनाइ छ।‘प्रधानमन्त्री र कम्युनिष्ट पार्टीका कारणले प्रतिनिधिसभा भंग भएको हुनाले हामी कुनै पनि खेमासँग मिलेर भन्दा पनि छुट्टै तरिकाले प्रतिरोधमा उत्रिनु पर्छ,’ उनले बैठकमा भनेका छन्।
सोमबार कांग्रेसले राखेको सर्वदलीय बैठकमा नेकपा प्रचण्ड-माधव नेपाल खेमाका नेताहरूले ओलीको कदमविरूद्ध सहकार्य गरी प्रतिरोधमा उत्रिनुपर्ने प्रस्ताव अगाडि सारेका थिए।तर महतले प्रमुख प्रतिपक्षी दल कांग्रेस एक्लैले यसबारे प्रतिरोध गर्नुपर्ने बताएका हुन्।प्रधानमन्त्री ओलीको संविधानविपरीत कदमलाई जनताले साथ नदिने पनि उनको भनाइ छ।
नेकपाभित्र विवाद र विभाजित हुन लाग्दा प्रतिपक्षी दललाई फाइदा हुने भए पनि संविधानविपरीत हुने गरी पार्टी अगाडि बढ्न नसक्ने उनले सेतोपाटीसँग कुराकानीमा बताए।उनले प्रधानमन्त्रीको कदमविरूद्ध सर्वोच्चमा रिट परेको भन्दै सर्वोच्चले न्यायिक आदेश दिने पनि विश्वास व्यक्त गरेका छन्।
पार्टीभित्र देखिएका आन्तरिक विवाद मिलाएर शशक्त ढंगले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। ‘आन्तरिक विवाद समाधान गरी महाधिवेशनतर्फ अगाडि बढ्नुपर्छ। संगठन सुधार गर्नुपर्छ,’ उनले भने।