काठमाडौं, ९ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले दाहाललाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।
दाहाललाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले बताएका छन् । ओली पक्षले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको छ । यसैबीच ओली पक्षले विभिन्न प्रदेश र सङ्गठनमा संयोजक नियुक्त गरेको छ ।
ओली पक्षले प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई संयोजक तोकेको छ । यस्तै जनवर्गीय सङ्गठनमा टोपबहादुर रायमाझी र काठमाडौं उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई अोली पक्षले संयोजक तोकेको छ ।