प्रचण्ड-नेपाल समूहद्वारा प्रदर्शन : हामी यहाँ छौँ, प्रतिनिधि सभा विघटन खारेज गर

admin

काठमाडौं, १० पुस : नेकपाको प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन सुरु गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

प्रदर्शनमा प्रचण्ड-नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् । प्रदर्शनमा विघटित प्रतिनिधिसभा सदस्यहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् । उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गरु, ‘संवैधानिक कू मान्दैनौ’ जस्ता नारा लगाएका छन् । प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड(नेपाल समूहको तयारी छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो ।

त्यसक्रममा माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् । यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।

प्रतिक्रिया