उपकरणले धान्न नसक्दा बत्ती जान्छ, लोडसेडिङ भन्न मिल्दैन : प्रवक्ता तिमिल्सिना

admin

काठमाडौं, १२  पुस : विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्रवक्ता मदन तिमिल्सिनाले विद्युत् माग बढ्दा प्रणालीमै ओभर लोड भएर केही प्राविधिक समस्या देखिएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् । ‘नागरिकमा एउटा मनोवैज्ञानिक भ्रम छ, यसलाई लोडसेडिङ भन्न मिल्दैन, हामी अहिले ट्रान्सफर्मरलगायतका उपकरणको मर्मत र सुधारको काम गरिरहेका छौँ, उनले भने।

प्राधिकरणका अनुसार अस्ति शुक्रबार यो वर्षकै सबैभन्दा बढी विद्युत खपत भएको छ । त्यसदिन २ करोड ५१ लाख युनिट विद्युत खपत भएको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले बताए । अघिल्लो वर्षको पुष १० गते अर्थात् यहीदिन २ करोड ३३ लाख युनिट विद्युत खपत भएको थियो ।

अहिले नेपालमा विद्युत उत्पादनको क्षमता १३ सय ६२ मेगावाट छ । नेपालका धेरैजसो जलविद्युत आयोजना रन अफ दि रिभर अर्थात् बगिरहेको नदी प्रणालीमा आधारित रहेकाले हिउँदको समयमा कुल क्षमताको आधा पनि विद्युत उत्पादन हुँदैन । तर वर्खाको समयमा भने नेपालमा उत्पादित बिजुली धेरै हुन थालेको छ ।

हिउँदको समयमा नेपालको उत्पादन क्षमताले माग धान्न नसकेपछि प्राधिकरणले भारतबाट समेत विद्युत खरिद गर्ने गरेको छ । प्राधिकरणले यो वर्ष पनि भारतबाट २ सय ५० सय मेगावाटसम्म बिजुली ल्याउनको लागि सम्झौता नवीकरण गरिसकेको छ । अहिले ५ सय २० मेगावाट प्राधिकरणबाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट खरिद गरेर माग धान्ने गरिएको छ ।

प्रतिक्रिया