एमसीसी लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

admin

काठमाडौं, १२ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि नव-नियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

मन्त्री रायमाझीले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘एमसीसीमा कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू छन् भने त्यसलाई सुधार गर्न सकिन्छ । उनले भने, हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’

पछिल्लो समयका हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकाले पनि पास गरेर अगाडि बढ्नुपर्ने मन्त्री रायमाझीले बताए । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्‍याउने बताए ।

मन्त्री रायमाझीले उर्जा क्षेत्रका सम्भावनालाई केलाउँदै लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने आफ्नो योजना सुनाएका थिए । सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्,’ पदबहाली गर्दै उनले भने ।

प्रतिक्रिया