कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर

admin

एजेन्सी, १३ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले हस्ताक्षर गरेसँगै कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका अमेरिकी नागरिकका लागि तय भएको राहत प्याकेजसम्बन्धी विधेयक कानुनमा परिणत भएको छ । ट्रम्पले विधेयकमा हस्ताक्षर नगर्दा लाखौँ अमेरिकीले शनिबार रातिदेखि राहत पाउन सकेका थिएनन् ।

राष्ट्रपति ट्रम्पले भनेअनुसार नागरिकलाई दिइने रकम छ सय डलरबाट बढाएर दुई हजार डलर बनाउन डेमोक्राटहरु तयार थिए । तर ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु विपक्षमा उभिएकाले ट्रम्पको प्रयास पूरा भएन । कोरोना भाइरस सहायता विधेयक भनिए पनि विधेयकमा कोरोनासँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाएका थिए ।

अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गएको सोमबार पारित भएको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

यस्तै आम नागरिकलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ । अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको एक दशमलव ४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।

प्रतिक्रिया