जहाज उडाउन भन्दा नउडाउँदा फाइदा, ४९ वर्ष पुराना २ जहाजबाट १४ वटा गन्तव्य धान्दै

admin

काठमाडौं, १३ पुस : नेपाल वायु सेवा निगमको आन्तरिक उडान गन्तव्य धेरै, जहाज र आम्दानी कम हुँदा निगम अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको छ । निजी क्षेत्रका अन्य कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्दै जाँदा सरकारी लगानी रहेको वायुसेवा निगम भने आन्तरिक उडान नै बन्द गर्ने अवस्था नजिकै पुगेको पाइएको छ ।

निगमले अहिले देशका १४ वटा गन्तव्यमा उडान गर्दै आएको छ । निगमले १४ वटा गन्तव्यमा उडान गर्दै आए पनि जहाज भने जम्मा २ वटा छन् । त्यो पनि ४९ वर्ष पहिलेका । काठमाडौंलाई आधार बनाएर निगमले भोजपुर, दाङ, ताप्लेजुङ, थामखर्क, खानीडाँडा, रुकुम र फाप्लुमा उडान गर्दै आएको छ । यस्तै नेपालगन्जलाई आधार बनाएर रुकुम, डोल्पा, जुम्ला, साँफेबगर, सिमीकोट, ताल्चा र बाजुरामा निगमले उडान गर्दै आएको छ ।

सन् १९७१ अर्थात विक्रम संवत् २०२८ सालमा किनेका २ वटा ट्विनअटर जहाजमार्फत अहिले निगमले आफ्नो आन्तरिक उडान धान्दै आएको छ । चीनसँग किनेका र उपहारमा पाएका ६ वटा जहाज उडान नसकेर ग्राउन्डेड गरेको निगमले अहिले १९ सिटे २ वटा जहाज मात्रै उडाउँदै आएको छ । ४९ वर्ष पुराना जहाज बिग्रिएर हैरान हुने गरेको छ । एउटा जहाज बिग्रिएमा २र३ हप्ताभरिकै उडान तालिका प्रभावित हुँदै आएको निगमका एक कर्मचारीले जानकारी दिए ।

आन्तरिक जहाजमा यात्रु पनि पाइन छाडेको निगमले जनाएको छ । अहिले आन्तरिक गन्तव्यमा जहाज उडानभन्दा नउडाउँदा नै पैसा बचत हुने निगमको भनाइ छ । ‘धेरैजसो गन्तव्यमा इन्धन शुल्क पनि उठ्ने अवस्था छैन, व्यवस्थापन खर्च पनि महँगो छ, जहाज उडाउँदा धेरै घाटा भइरहेको छ, त्यसैले कतिपय गन्तव्यमा उडान नभएकै ठिक छ भन्ने अवस्थामा पुगेका छौँ ’ एक कर्मचारीको भनाइ छ ।

नेता र सांसदको दबाबको कारण निगमले यात्रु नहुँदा नहुँदै पनि केही दुर्गम क्षेत्रमा उडान गर्न बाध्य भएको छ । यसका कारण पनि समस्या भएको निगम स्रोतको गुनासो छ । ‘४९ वर्ष पुराना जहाज छन्, कुन जहाजमा कतिखेर खराबी आउँछ भन्न सकिन्न, एउटा जहाज बिग्रियो भने केही हप्ताकै उडान तालिका प्रभावित हुन्छ, छिटो गन्तव्यमा पुग्नको लागि टिकट काटेका यात्रु बरु बसमा जान बाध्य हुन्छन्, यसले गर्दा निगमप्रतिको विश्वास गुम्दै गइरहेको छ’, कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया