सात लाखको दुर्घटना बीमा, प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको

admin

काठमाडौं, १३ पुस : प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार बीमाको व्यवस्था गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस)मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था अनुसार बीमाको अवधि गएको पुस १ देखि २०७८ सालको असार मसान्तसम्म हुने गरी सात महिनाको तोकिएको छ । यो बीचमा काममा खटाइएको एक सय दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएको छ ।

रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि बीमा कम्पनी लिमिटेडले छुट्टै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बिमालेख’ तयार गरेको छ । यसले सात लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्गता तथा अशक्तता बीमा र औषधि उपचार बीमा समेतलाई समावेश गरेको छ ।

यस बीचमा सम्झौताको प्रावधान अनुसार बीमितको बीमा रकमको भुक्तानीको लागि स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया