कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार नाघ्यो, नयाँ प्रजातिको भाइरसका कारण बेलायतबाट फर्किएका १९३ जना निगरानीमा

admin

काठमाडौं, १३ पुस : नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । बितेको २४ घण्टामा सात सय १८ जनाले कोरोनालाई जितेसँगै निको हुनेको संख्या दुई लाख ५० हजार पाँच सय ८१ पुगेको हो । बितेको २४ घण्टामा ६ सय ५९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ५८ हजार आठ सय ४० पुगेको छ ।

सोमबारसम्म सक्रिय संक्रमितको संख्या ६ हजार चार सय २७ रहेको छ । यस्तै बितेको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बेलायतबाट फर्किएका १९३ जना निगरानीमा, ५ जनामा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्यरूपमा १० दिन होटल क्वरेण्टीनमा बस्न अनुरोध गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड-१९ को विकसित रूप नै नयाँ प्रजातिको भाइरस रहेको बताए ।

‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड-१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उनले भने, ‘कोभिड-१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ उनले कोभिड-१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएकालाई पीसीआर परीक्षण गरेर क्वरेण्टीनमा राखिएको जानकारी दिए ।

महाशाखाका निर्देशक डा. पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले फेरि परीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड-१९ जस्तै रहेको र यसले संक्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड-१९ का बिरामीको जसरी नै गरिन्छ ।

प्रतिक्रिया