ओलीलाई राजीनामा गराएर विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ : पूर्वराजदूत

admin

एजेन्सी, १५ पुस : नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुनः स्थापना गर्न र राजीनामा दिन चिनियाँ पक्षबाट मनाउने प्रयास गरिएको दाबी समेत गरेका छन् । भारतीय अखबार द ट्रिब्युनमा मंगलबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् ।

उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् । ‘ओलीलाई नेतृत्व परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनका लागि मनाउने प्रयास गरिएको बुझिएको छ । उनलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास गरिएको छ । तर ओली भने त्यसलाई प्रतिवाद गर्नेपक्षमा देखिएका छन् ।’

यस्तै नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन् । नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् ।

‘हामीले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई पर्ख र हेरको रणनीति अपनाएर मात्रै अघि बढ्नुपर्छ,’ उनले भनेका छन् । यसैगरी प्रधानमन्त्री केपी शमर्का ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन् ।

‘पछिल्लो संकटमा अमेरिकी भूमिका रहेको आशंका गरिएको छ । ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताको प्रचण्ड र नेकपाका अन्य नेताहरुले विरोध गरेका थिए तर ओलीले भने यो प्रस्ताव पास गर्न स्वीकृति दिएका छन् । एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् ।

साथै नेपालमा अमेरिका र चीनबीचको ‘पावरप्ले’ का कारण भारत ‘साइड सो’ बन्ने खतरामा रहेको पनि शरणले दाबी गरेका छन् । ‘अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा भइरहेका मानवअधिकार हननलगायतका मुद्दा उठाएर चीनलाई कमजोर बनाउन खोजेको पनि बताइएको छ,’ शरणले लेखेका छन् ।

प्रतिक्रिया