चाडपर्वलाई आत्मसाथ गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ : प्रधानमन्त्री

admin

काठमाडौं, १५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताएका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताएका छन् । उनले भनेका छन्, ‘एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, भेषभुषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’

उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताएका छन् ।

‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसाथ गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ,’ उनले सन्देशमा भनेका छन् ।

तमु ल्होसार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ । गुरुङ भाषामा ‘ल्हो’लाई दिन र ‘सार’लाई फेरिने अर्थमा लिइन्छ । भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होसारलाई छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष फेरिने दिनका रुपमा मनाउने गर्छन् ।

प्रतिक्रिया