एसईईको मिति र विधिबारे निर्णय हुनै बाँकी, आवेदन फारम माघ २१ गतेसम्म

admin

काठमाडौं, १६ पुस : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन । चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, बैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसैअनुसार तयारी भइरहेको जनाएको छ ।

परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन । विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन या अरु कुन माध्यमबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि (आज) बिहीबारदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका लागि सूचना निकालेको हो ।

कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले अन्यौलकाबीच यसपालि राजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो । २०७६ सालमा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया