विरोध र आलोचनाको संस्कृति सुधार्न आग्रह, अभद्र व्यवहारविरुद्ध न्याय खोजौँ

राष्ट्रिय समाचार समिति

काठमाडौं, १६ पुस : राजनीतिक विरोधका क्रममा लगाइने उच्छृङ्खल नारा, प्रदर्शन र बोलीवचन लोकतान्त्रिक राज्यमा पटक्कै नसुहाउने देखिएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा अन्धभक्ति वा अन्धविरोधको संस्कृति अन्त्य हुन नसकेका कारण बेलाबखत अमर्यादित नारा र आवाज प्रस्तुत भएका पाइन्छन् । त्यस्ता शब्द वा नारा जिम्मेवार सञ्चारमाध्यमबाट पनि प्रकाशन तथा प्रसारण हुनाले जिम्मेवारी बोधको अभाव खड्किएको पाइन्छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध र नयाँ राजनीतिक घटनाक्रमका कारण भइरहेका प्रदर्शन र कार्यक्रमका क्रममा दुवै पक्षबाट एकार्कालाई तल्लोस्तरको आरोप लगाउनु त सामान्य भएको छ भने सडकमा अवाञ्छित र मर्यादित नारा पनि सुन्नुपरेको छ । एकले अर्काको सम्मान र मर्यादा गरेर पनि तार्किकरुपमा आफ्ना विरोध र मतलाई अभिव्यक्त गर्न सकिने संवैधानिक हक र सामाजिक आचरणलाई बेवास्ता गरी उद्दण्ड र स्तरहीन नाराले सामाजिक र व्यक्तिगत सम्बन्धमा समेत बाधा पुग्न सक्ने देखिन्छ ।

विगतमा कम्युनिष्टहरु मिल्दा सहजै मिल्न सक्ने र फुट्दा निन्दाका शब्द निकाल्न अग्रसर हुँदै आएकामा पछिल्लो समयका व्यवहारले पनि त्यस्तो प्रवृत्तिमा सुधार आएको देखिएको छैन । ‘सुन्नै नसकिने’ उही शब्द वा कथित नाराको बारम्बार पुनरावृत्ति हुनाले राजनीतिक नेतृत्वले त्यसलाई किन रोक्न सकेन भन्ने प्रश्न पनि उठ्न सक्छ । शब्दहरुको प्रयोग गर्दा शीर्ष नेतृत्व स्वयं शालीन वा विनम्र हुनुपर्ने आवाज पनि नागरिक तहबाट उठेको छ । कुनै समय आफ्नै संस्थापक नेतामाथि लगाइएको ‘गद्दार’ शब्द फिर्ता लिनुपरेको तथ्य पनि यहाँ स्मरणीय हुन्छ ।

राष्ट्रका सर्वोच्च संस्था, कार्यकारी प्रमुख, पार्टी अध्यक्षलगायत शीर्ष नेताहरुसमेतलाई लक्ष्य गरी लगाइएका त्यस्ता नारा र आरोपप्रत्यारोपले विरोध र आलोचनाको संस्कृति र शैली कता जाँदैछ भन्ने प्रश्न खडा भएको छ । जिम्मेवार दलका कार्यक्रममा गणतन्त्रविरोधी पक्ष घुसेर स्थितिलाई भड्काउने खेल भइरहेको त होइन भन्ने चिन्ता पनि व्यक्त गरिएको छ । त्यसो त विवादका बेला अति विरोध र आरोपप्रत्यारोपमा उत्रनेहरुलाई भोलिका दिनमा एकता भई सँगै बस्दा ठाउँ रहने गरी प्रस्तुत हुन पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आग्रह अभिव्यक्त हुँदै आएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय संस्कारहीन नाराहरुको पछि लागिरहनु श्रेयष्कर ठान्दैनन् । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकूलसचिव उपाध्यायले विरोधको अवस्थामा पनि न्यूनतम मानवीय संस्कार र व्यवहार प्रदर्शन गर्नु सबै पक्षका लागि अत्यावश्यक भएको बताए । उनले आफ्ना असहमतिलाई शिष्ट, शालीन रसभ्य भाषाबाट व्यक्त गर्न सकिने भएकाले तुच्छ गालीगलोज कसैले कसैलाई पनि गर्न नहुने जनाए ।

साहित्यकार वासुदेव अधिकारीले लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै समाज लोकतान्त्रिक अभ्यासप्रति जिम्मेवार हुँदै जानुपर्ने र आफ्ना असहमतिलाई मित्रवत्रुपमा प्रस्तुत गर्नुपर्नेमा गालीगलोजमा उत्रनु उचित नभएको प्रतिक्रिया दिए । ‘शब्द संयोजन’ मासिकका प्रधानसम्पादक अधिकारीले गाली र लाञ्छनाभन्दा वैचारिक कुराहरुका आधारमा विरोध हुनु आवश्यक रहेको जनाउँदै भने, “शीर्ष नेतृत्वहरुबाट पनि सुसंस्कारित अन्तरविरोध सिर्जना गर्नुपर्नेमा त्यस्तो देखिएन । त्यसको असर तल्लो तहका कार्यकर्तामा पनि पर्न गयो । समाजलाई संस्कारयुक्त बनाउने काम नेता र अगुवाहरुकै हो ।”

नेकपा नेत्री नीरुदेवी पालले महिलामाथि पटकपटक हमला हुने गरेको सन्दर्भ उठाउँदै अमर्यादित नारा लगाउनेहरुलाई आफ्ना पनि दिदीबहिनी र चेलीहरु छन् भन्ने सोच्न आग्रह गरे । ‘मानव अधिकारका लागि एकल महिला’का संस्थापक लीली थापाले भनेका छन्, “कुनै पनि महिलाको चरित्र हत्या गरिनु एकदमै निन्दनीय छ ।” राजनीतिक एवं सामाजिक उच्च छवि बनाएका वा अन्य पुरुषहरुलाई पनि नीचो देखाउन दिइने उपमाहरु दिनु पाच्य ठहरिन्न ।

सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी कुनै विषयमा बढी आलोचना गर्नका लागि समाज तयार हुनु तर समालोचनाका आधारमा हेर्ने दृष्टिकोण विकास नहुनुले यस्तो स्थिति आएको बताउँछन् । सामाजिक अध्ययन शिक्षक समाजका महासचिव उनले यसका लागि विद्यालय तहदेखि नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अनिवार्यता थप पुष्टि भएको तर्क गरे । यही प्रसङ्गमा पत्रकार लोग्सरी कुँवरले सामाजिक सञ्जालमा लेखेका छन्, “(यस्ता) गाली बेइज्जती गलत संस्कार र वैचारिक स्खलन हो । यस्तो अभद्र व्यवहारविरुद्ध न्याय खोजौँ ।”

प्रतिक्रिया