सूर्य चिन्ह हाम्रो हो, बाघको छालामा स्यालको रजाइँ, यहाँ चल्दैन : महेश बस्नेत

admin

दाङ, पुस १६ : नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले (प्रचण्ड –माधव नेपाल) समूहलाई सूर्य चिन्ह दाबी गर्ने नैतिकता नभएको बताएका छन्।

युवा संघ दाङले बिहीबार दाङको घोराहीमा आयोजना गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विगतमा प्रचण्डले आफू र छोरीलाई चुनाव जिताउन सूर्य चिन्ह च्यात्ने, टोेक्ने जस्ता गतिविधि गरेको हुँदा त्यस्तो व्यक्तिलाई सूर्य चिन्ह दाबी गर्ने नैतिकता नरहेको जिकिर गरे।

बस्नेतले भने, ‘सूर्य चिन्ह हाम्रो हो, बाघको छालामा स्यालको रजाइँ यहाँ चल्दैन।’ सूर्य चिन्हको माला लगाएर निर्वाचनमा आयोग र बल्खु जाँदैमा उनले सूर्य चिन्ह नपाउने समेत तर्क गरे। ‘सूर्य चिन्ह, जबज, मदन भण्डारी र देशभरका पार्टी कार्यालय हाम्रा हुन्,’ पूर्वमन्त्री बस्नेतले भने, ‘यसमा कुुनै खाले दुविधा छैन।’
देशभरका पार्टी कार्यालयहरू आफूहरूको भएको दाबी बस्नेतले गरे।

तर, बस्नेतले प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिने धारणा राखे। ‘प्रचण्ड सच्चिएर आएमा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘तर अहिलेको अवस्थामा उनीसँग छलफल गर्ने ठाउँ नै छैन।’ सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अब चुनाव हुनेमा कुनै दुविधा नरहेको उनले बताए।

‘निर्वाचन आयोग चुनाव गराउन तयार छ। सुरक्षा निकाय, सुरक्षाको वातावरण दिन तयार भएका छन्,’ उनले भने,‘अब यहाँ चुनाव हुँदैन भनेर कराउने जनताको माझमा जान डराउनेहरू मात्र हुन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावमा जाने निर्णय कानुनी रूपमा ठिक भएको दाबी पनि गरे। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरीले प्रचण्ड- माधव समूहसँग चुनावमा जानको लागि कुनै एजेण्डा नभएको बताइन्।

‘हामीसँग विकास निर्माणदेखि अन्य धेरै एजेण्डा छन्। ती एजेण्डा लगेर हामी जनताका माझमा जानेछौं,’ उनले भनिन्, ‘तर उनीहरूसँग कुनै एजेण्डा नै छैन, त्यही भएर उनीहरू चुनावदेखि भाग्न खोजेका छन्।’ प्रचण्ड-माधव समूहले पार्टी भत्काएको समेत उनको आरोप छ। उनले भनिन्,‘आफ्नो घर भत्काएर सडकमा जानुको कुनै अर्थ हुँदैन। जनताले भोलि अवश्य उनीहरूलाई सजाय दिनेछन्।’

प्रतिक्रिया