डब्ल्यूएचओद्वारा फाइजर-बायोटेकले उत्पादन गरेको खोपलाई अनुमति

admin

काठमाडौं, १७ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फाइजर-बायोटेकले उत्पादन गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई अनुमति दिएको छ । संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर-बायोटेकको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएचओका सहायक महानिर्देशक डा. मारिएन्जेला सिमाओले विश्वभरका खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर-बायोटेकको खोपलाई अनुमति प्रदान गरिएको बताएको खबरमा उल्लेख छ ।

साथै उनले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै पहुँच स्थापित गर्न यो निर्णय महत्त्वपूर्ण भएको बताए । फाइजर-बायोटेकले उत्पादन गरेको खोपलाई बेलायत, अमेरिका, क्यानडालगायतका देशले अनुमति दिइसकेका छन् । केही देशमा यो खोप लगाउनसमेत सुरु भइसकेको छ ।

अमेरिकाले अमेरिकी कम्पनी मोडेर्नाले उत्पादन गरेको खोपलाई पनि अनुमति दिएको छ भने चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ ।

प्रतिक्रिया