राष्ट्रिय सभा बैठकको तयारी पूरा, एक सांसदसहित पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, १७ पुस : राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन शुक्रबार दिउँसो ४ बजेका लागि आह्वान गरेकी छिन् । प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।

राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । छ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिधि सभा नै कुर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा विघटनको अवस्थामा भए पनि संवैधानिक सङ्कट टार्न राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । प्रतिनिधि सभा नभएकाले काम नभएमा राष्ट्रिय सभाको अधिवेशन लामो समय चल्न नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया