नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो: वामदेव गौतम

admin

काठमाडौं, पुस १७ : राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले तीन कित्ता रहेको बताएका छन्। शुक्रबार पहिलो पटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका गौतमले पत्रकारहरूको जिज्ञासामा नेकपाको पछिल्लो राजनीतिबारे प्रतिक्रिया दिएका हुन्।

‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो,’ गौतमले भने,‘दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन्।’

प्रतिनिधि सभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताए। धेरै सांसदलाई यो कुरा चित्त नबुझेको उनको भनाइ छ। प्रतिनिधि सभा विघटनको विपक्षमा भए पनि आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा भने नजाने उनले जानकारी दिए।

‘आज बिहानको भेटमा प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो। मैले आउँदिनँ भनें,’ वामदेवले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने बताए।

उनले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताए। गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित वामदेवलाई केही समयअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रिय सभा सदस्य बनाइएको थियो।

प्रतिक्रिया