इजरायलले १० लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप दियो

admin

काठमाडौं, १९ पुस : इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् । इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ ।

यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै बीबीसीले जनाएको छ । यसैबीच भारत सरकारले पहिलो चरणमा कोरोनाविरुद्ध झण्डै तीन करोड मानिसलाई निःशुल्क खोप दिने भएको छ ।

भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले शनिबार नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउने बताए । भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।

खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै १ लाख जनालाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतमा दुईवटा कोरोना खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया