राष्ट्रपतिमाथि अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै, ओली पक्षको अनेम सङ्घद्वारा ज्ञापनपत्र

admin

काठमाडौं, १९ पुस : अखिल नेपाल महिला सङ्घ (अनेम)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको अनेम सङ्घले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरूले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेम सङ्घले आपत्ति जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए । यस्तै नाराबाजी गर्नेविरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरू नै कानुनी प्रक्रियामा जाने अनेम सङ्घकी नेतृ शर्मिला कार्कीले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरू सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ ।

प्रतिक्रिया