विदेशमा थप तीन नेपालीको ज्यान गयो, आगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

admin

काठमाडौं, १९ पुस : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो हप्ता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको ज्यान गएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट ज्यान जानेको कूल संख्या (२० देशका) तीन सय १५ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यो हप्ता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

आगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने
हाल विश्वका केही देशहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न देशमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

भारतसहित बेलायत, युरोपेली देश, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ । बेलायतलगायतका देशमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी देश भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । 

प्रतिक्रिया