ओलीको व्‍यंग्‍य : ‘हामी यहाँ छौँ’ होइन, ‘म यहाँ छु’ भन्‍ने अवस्था नआओस्

admin

काठमाडाै‌ं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सुकेको पातको संज्ञा दिएका छन्। 

आफूनिकट विद्यार्थी संगठनले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले अर्को समूहमा विभाजित शीर्ष नेताहरुलाई बस गुडरहेका बेला सुकेका पातहरू हल्लिए पनि बस छुटेपछि ती पात जहाँको त्यहीँ रहने बताए।

प्रचण्ड–नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने ‘यसरी नै अघि बढे ‘हामी यहाँ छौ’ भन्ने ठाउँमा ‘म यहाँ छु’ लेख्नुपर्ने स्थिति आउन सक्छ, अझै पनि म आग्रह गर्न चाहन्छु, फर्कने भए अहिले पनि कुर्सीहरू हटाइएको छैन, आउनुहोस्, होइन भने तपाईंहरू भोलि एक्लै हुने दिन आउँछ।

तर कोही पार्टीमा नफर्के पनि आन्दोलन भने नरोकिने प्रधानमन्त्री ओलीको भनाइ थियो। तोकिएको चुनाव रोकिपाऊँ, विघटन भइसकेको संसद् ब्यूताइ पाऊँ भन्दै सर्वोच्चमा परेका रिटमाथि जवाफ पेश गरेर आएको उल्लेख गर्दै उनले निर्वाचन आयोगले पनि उहाँहरूलाई थप स्पष्ट पार्न पत्र पठाइसकेको जानकारी आफूले पाएको बताए।

भ्रष्टाचारीको संरक्षण गरेको भन्ने अर्को पक्षको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारविरुद्ध रहेको दोहोर्‍याउँदै भ्रष्टचार गर्न दिन्नँ र गर्दिनँ भनेका छन्। संवोधनका क्रममा प्रधानमन्त्री ओलीले केहि सञ्चार माध्याम पनि आफुविरुद्ध खनिएको बताएका थिए।

प्रतिक्रिया