ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

admin

एजेन्सी, २० पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको हो ।

राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई अहिलेसम्म स्वीकार गरेका छैनन् । उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको बीबीसीले जनाएको हो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङका अनुसार ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग आफूलाई ११ हजार ७८० भोट मात्रै चाहिएको बताएका छन् । रेफनस्पर्जरले भने फोनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताएका छन् ।

जर्जियामा जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेर चुनाव जितेका छन् भने ट्रम्पले २३२ भोट मात्र प्राप्त गरेका थिए । तर ट्रम्पले यो नतिजालाई अस्वीकार गर्दै आएका छन् । जो बाइडेनले यही जनवरी २० तारिखमा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै छन् ।

प्रतिक्रिया