नौं महिनापछि मुस्ताङमा पर्यटकको चहलपहल

admin

मुस्ताङ, २० पुस : मुस्ताङमा कोरोनाभाइरस (कोभिड-१९) का कारण करिब नौं महिनादेखि बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन लकडाउनले नौं महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् ।

बन्द होटल, व्यवसाय खुला गर्ने निर्णयपछि अहिले पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताएका छन् ।

अध्यक्ष तुलाचनकाअनुसार संघको निर्णयबाट गएको बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन व्यवसायी समेत रहेका तुलाचनले जिल्लामा बन्द होटल व्यवसाय सञ्चालनमा आएको विषयमा जानकारी दिँदै भने, ‘सबैलाई मुस्ताङ भ्रमणको चुले निम्तो छ, आउनुहोस् मज्जाले घुमेर जानुहोस् ।’

मुस्ताङ जिल्लाको कला, संस्कृति र परिवेशसमेत छुट्टै रहेकाले यसको विविध आयामहरुको अध्ययन तथा अवलोकनका लागि धेरै क्षेत्रहरु रहेको उनको भनाइ छ । कोरोना भाइरसकै कारण लामो समयसम्म होटल व्यवसाय बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष असर परेपछि पछिल्लो समय लकडाउन खुला भएसँगै अन्य क्षेत्र पनि खोलिएको छ ।

मुस्ताङमा स्याउको राजधानी मानिने मार्फा, थकाली समुदायको उद्गमस्थल ठिनीगाउँ, जोमसोम बजार, यारुजो डाँडा, ढुम्बाताल, प्रमुख पर्यटकीय एवं धार्मिकस्थल मुक्तिनाथ, कागबेनी, लोमान्थाङ र मुस्ताङ-तिब्बत कोरला नाका पर्यटकको आकर्षणका केन्द्र मानिन्छन् । विगत केही वर्षयता मुस्ताङमा विदेशीभन्दा नेपालको विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकहरुको चाप बढेको होटल व्यवसायीको भनाइ छ ।

हिमाली जिल्लाको छुट्टै पहिचान बनाएको मुस्ताङ जिल्ला आफैँमा पनि निक्कै सुन्दर तथा आकर्षक मानिन्छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि लेते, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म कुल १ सय ६५ ओटा पर्यटकीय होटलहरु सञ्चालनमा रहेका छन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा छोन्हुपमा ४२ ओटा साना, मझौला र ठूला होटलहरु सञ्चालन गरिएको छ ।

यसैगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर पनि आउँदो मंगलबार सर्वसाधारणहरुका लागि खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मन्दिर खुला गरिने हुँदा सर्वसाधारणलाई स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पालना गर्न आग्रह गरिएको छ ।

मुक्तिनाथ विकास समिति, स्थानीय प्रशासन, संघ तथा प्रदेशका सांसदहरु, जिल्ला समन्वय समिति, गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकमा मन्दिर खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताए । 

प्रतिक्रिया