नेप्सेले २२ सय विन्दु पार गर्‍यो

admin

काठमाडौं, २६ पुस : शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । पछिल्लो एक महिनादेखि पटक-पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५ दशमलव ७२ विन्दुमा पुगेको छ । आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ ।

बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ । आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै प्रभु बैंकको ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंकलगायत ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

प्रतिक्रिया