काठमाडौं, २७ पुस : स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।
कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको छ । यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाबाहेकका सरुवा रोगका बिरामीलाई पनि भर्ना गरेर उपचार सेवा दिने भएको छ । आउँदो माघ १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।