तरुलको कारोबार बढ्यो, चाकु र सख्खरको भने घट्यो

admin

काठमाडौं, २८ पुस : माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ । (हिजो) सोमबारदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ ।

गएका वर्षहरुमा जस्तै यसपालि सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ । सस्तोसँगै मिठो र यो तरुलले तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण यसमा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।

उनकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ ।

यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेको छ । सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् ।

यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए । पोहोर परार स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको उनको भनाइ छ । बजारमा आज स्कूसको जरा किलोको ८० देखि १ सय रुपैयाँ थोक मूल्य छ । बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले मूल्य खासै नबढ्ने पनि उनले बताए ।

यसैबीच, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुद्रामा तरुललगायतका तरकारी खरिद गर्दा महँगो पर्न जाने भएकाले थोक बजारमा नै गएर तरकारी किन्न उपभोक्तालाई सुझाव दिएको छ । थोक बजारमा उपभोक्ताले साढे दुई किलोदेखि माथि किन्दा थोक मूल्यमा नै तरकारी पाउने समितिले जनाएको छ । खुद्रा पसलमा तरकारी किन्दा उपभोक्ताले थोक मूल्यभन्दा दोब्बर तेब्बर बढी तिर्नु पर्छ ।

यसपालि घट्यो चाकु र सख्खरको व्यापार
माघे सङ्क्रान्ति पर्वमा प्रयोग हुने चाकु र सख्खरको व्यापार यो वर्ष घटेको छ । कोरोना महामारीका कारण व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । माघे सङ्क्रान्तिमा चाकु, घिउ र सख्खरको माग धेरै हुने गरे पनि यो वर्ष बजारमा खासै चहलपहल नभएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

अघिल्लो वर्ष ३५ हजार केजी चाकु खपत भएकोमा यो वर्ष माग कम भएकाले ३० हजार मात्रै चाकु बनाइएको अध्यक्ष श्रेष्ठले बताए । काठमाडौंको टोखामा चाकु बनाउने गरिएको छ । प्रतिकेजी १ सय १० रुपैयाँका दरले चाकुको बिक्री गर्ने गरिएको व्यवसायीले बताएका छन् । मुख्यगरी असन, मरु, लगनखेल, भक्तपुर, बनेपा र नेवारहरुको बसोबास भएको ठाउँमा व्यापार हुने गरे पनि यसपालि माग घटेका छ ।

यस्तै, सख्खरको पनि व्यापार घटेको छ । अघिल्लो वर्ष ३५ लाख रुपैयाँ बराबरको सख्खर भित्रिने गरेकोमा यसपालि ३० लाख रुपैयाँको मात्रै भित्रिएको छ । चाकु बनाउन कपिलवस्तुको कृष्णनगरबाट सख्खर ल्याइने गरिएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया