चीनमा महिनौँपछि सबैभन्दा धेरै संक्रमित देखिएसँगै चार सहरमा लकडाउन

admin

एजेन्सी, २९ पुस : चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ, परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ । थपिएका संक्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् ।

बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर-पूर्वी चीनको एक प्रान्तमा पनि संक्रमणको दर बढेको देखिएको छ । संक्रमण दर बढेपछि दुई करोड ८० लाख भन्दा धेरै नागरिकलाई होम क्वरेण्टीनमा राखिएको छ ।

नेशनल हेल्थ कमिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘चीनमा एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ, एक दिनअघि ५५ जनामा संक्रमण देखिएको छ । गएको ३० जुलाईपछि एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको हो ।’

कमिसनका अनुसार एक सय सात जनामा समुदायस्तरबाटै संक्रमण भएको छ, ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका र उत्तर-पूर्वी हेलुंगजंग प्रान्तमा १६ जना छन् । हिबेको तीन सहरमा लकडाउन लगाइएको छ । बेइजिङ सहरको प्रशासनले स्क्रिनिङ र संक्रमण फैलिन नदिन कडा कदम चालेको छ ।

हेलुंगजंग प्रान्तले बुधबार कोभिड-१९ आपत्काल घोषणा गरेको छ । प्रान्तीय राजधानी हार्बिनको सीमा नजिकको सुहुआ सहरले आफ्ना पाँच लाख २० हजार नागरिकका लागि लकडाउन लगाएको छ ।

प्रतिक्रिया