सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई जवाफसहित उपस्थित हुन आदेश

admin

काठमाडौं, १५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अवहेलना मुद्दामा अदालतमै हाजिर हुन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने भन्नेबारे सात दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै बूढा बाजेलाई अदालतमा लगेर तमासा देखाएको भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए । यस्तै प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।

यस्तै न्यायाधीश शर्माको इजलासले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई आफै अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले बताए ।

साथै पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पनि आफै उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ । चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भएको बताएका थिए ।

प्रतिक्रिया