ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने

admin

काठमाडौं, १६ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् । आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ ।

ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ । आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै ओली समूहले कानुनविद्हरुसहित सहभागी हुने बताइएकाले कसरी सहभागी हुने भन्नेबारे अहिले आफूहरु छलफलमा रहेको नेता पोखरेलले जानकारी दिए । आउँदो बैशाख १७ र २७ गते मध्यावधिक चुनावको मिति तय गर्दै प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।

दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गर्दै आएका छन् । आयोगले भने पार्टी विभाजन हुन नसक्ने र अहिले पनि नेकपाका दुवैजना अध्यक्ष रहेको स्पष्ट पारेको छ । दुई समूहमा विभाजन भएपछिका निर्णयहरुलाई आयोगले मान्यता दिन अस्वीकार गरेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकिरहेको छैन ।

प्रतिक्रिया