अमेरिकी कम्पनी नोभाभ्याक्स खोपको प्रभावकारीता ८९ प्रतिशत

admin

एजेन्सी, १६ माघ  : अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोरोनाविरुद्धको खोप नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरेको छ । बेलायतमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको हो । परीक्षणमा सहभागी एक चौथाइभन्दा धेरै नागरिक ६५ वर्ष उमेरमाथिका रहेका बीबीसीले जनाएको छ ।

यो खोपले कोरोनाको नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने दाबी गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोराना खोपसम्बन्धी नयाँ परीक्षण सुखद समाचार भएको भन्दै स्वागत गरेका छन् । उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामक निकायले परीक्षण गर्ने पनि बताएका छन् ।

बेलायतले आफ्नै देशको स्टकटन-अन-टिज सहरमा उत्पादन गर्ने यो खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्ध वार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ । नोभाभ्याक्स, अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

प्रतिक्रिया