ओली पक्षद्वारा चुनावको तयारीमा अघि बढ्न आग्रह, प्रचण्ड-नेपाल पक्षले माग्यो केही दिनको समय

admin

काठमाडौं, १६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।

नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरेको हो ।

आयोगले सर्वोच्च अदालतले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताएको छलफलपछि नेता नेम्वाङले जानकारी दिए । निर्वाचन आयोगले शुक्रबार छलफलका लागि नेकपाको ओली र प्रचण्ड-नेपाल पक्षलाई बोलाएको थियो ।

यसअघि छलफलमा पुगेका प्रचण्ड-नेपाल समूहका नेताले भने केही दिनको समय मागेर फर्किएका थिए । सरकारले आउँदो बैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ । गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि चुनावको मिति घोषणा गरेकी हुन् ।

प्रतिक्रिया