नेकपाको विवाद निर्वाचन आयोगले टुंङ्ग्याइसकेको सुवास नेम्वाङको दाबी

admin

काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडि बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफुहरुको सहयोग र समर्थन रहने पनि बताउनुभयो ।
आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिनुभयो ।

नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताउनुभयो ।आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले भने नेकपाको दुवै पक्षले आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताउनुभयो ।आयुक्त पौड्यालले नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि स्पष्ट पार्नुभयो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सुचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुभएको थियो ।

तर (नेकपा) प्रचण्ड–नेपाल पक्षले भने छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहेपनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो ।नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगेर पत्र बुझाउनु भएको थियो ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ नेता पाण्डेले अध्यक्षद्धयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताउनुभयो ।

नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सुचना निकाल्नु नहुने उहाँको भनाई छ ।आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उहाँको भनाई छ । आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको पाण्डेले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया