म्यानमारमा संकटकाल घोषणा, सेना प्रमुखमा कार्यकारी शक्ति हस्तान्तरण

admin

काठमाडौं, माघ १९ : म्यान्मारमा ‘सैन्य कू’ पछि संकटकाल घोषणा गरिएको छ। म्यानमार सेनाले राष्ट्रिय टेलिभिजनमार्फत एकवर्षसम्म संकटलकालको घोषणा गरेको अलजजिराले उल्लेख गरेको छ।

FILE PHOTO: Myanmar’s Army Chief Min Aung Hlaing salutes during the Martyrs’ Day ceremony in Yangon on July 19, 2020.Ye Aung Thu/Pool via REUTERS

निर्वाचनमा धाँधली भएको भन्दै आइरहेको सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको हो। उक्त निर्वाचनमा आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले विजय हासिल गरेको थियो। निर्वाचनपछि संसद बैठक बस्ने तयारी भइरहँदा सेनाले नेताहरुलाई प’क्राउ गरेको हो।

सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सूची लगायत मुख्यमन्त्री र नेताहरुलाई ‘डिटेन’ गरेको छ। हाल म्यानमानरभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ। पक्राउ परेका नेताहरुको अवस्था सार्वजनिक गरिएको छैन।

राष्ट्रपति लगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ। म्यानमार टाइम्सका अनुसार संकटकाल अवधिभर कार्यकारी शक्ति सेना प्रमुखमा रहेपनि राष्ट्रपतिको अधिकार अस्थायी रुपमा उपराष्ट्रपति यु मिन्ट सूले प्रयोग गर्नेछन्।

अमेरिका र अष्ट्रेलियाले म्यान्मारमा भएको पछिल्लो घटनाको विरोध गरेको छ। निर्वाचनबाट आएको जनप्रतिनिधिलाई नियन्त्रणमा लिएर प्रजातन्त्रिक प्रक्रिया नसच्चिए आफूहरुले त्यसविरुद्ध कदम चाल्ने अमेरिकाले चेतावनी दिइसकेको छ। अष्ट्रेलियाले सेनाले विधिको शासन मान्न र नेताहरुलाई रिहा गर्न माग गरेको छ।

एनएलडीले गत नोभेम्बरमा भएको निर्वाचनमा बहुमत सिट जितेपछि सेनाले त्यसविरुद्ध कडा कदम चाल्ने अनुमान गरिँदै आएको थियो। सेनाले निर्वाचनमा धाँधली भएको बताएपनि कुनै प्रमाण भने नदिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। तर, गत हप्ता सिनियर जनरलले ‘संविधान नै रद्द’ गरिदिने चेतावनी दिएपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो।

प्रतिक्रिया