अविश्वास प्रस्तावमाथिको छलफल छल्न खोजियो, नाराबाजी गर्दै बैठक बोलाउन सभामुखसँग माग

राष्ट्रिय समाचार समिति

मकवानपुर, १९ माघ : सोमबार बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेश सभा बैठक स्थगनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रदेश सभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेश सभा सदस्यले प्रदेश सभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । प्रदेश सभा सदस्यले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको प्रचण्ड-नेपाल समूहको आरोप छ । नाराबाजीअघि नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरि बैठक स्थगनको विरोध गरेको थियो ।

पत्रकार सम्मेलनमा अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रूपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाए । प्रदेश सभा सदस्य शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौँडा आइसकेपछि राति विद्युतीय सूचना जारी गर्दै बैठक स्थगनको सूचना आउनु विधि र पद्धति विपरीत भएको जनाउँदै सभामुखलाई यस निर्णय फिर्ता लिँदै बैठक राख्नुपर्ने माग गरे ।

उनले भने, ‘दलको छलफल विना यसरी बैठक सारिनु गलत छ, सभामुखले तत्काल बैठक आह्वान गर्नुपर्छ ।’ उनले बैठक तत्काल बोलाउन पाउने अधिकार सभामुखमा सुरक्षित रहेको जनाउँदै सभामुख सबैको साझा भएकाले सबैसँग छलफल गरेर निर्णय लिनुपर्ने बताए ।

निवर्तमानमन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नबसि बैठक स्थगन भएकामा आपत्ति जनाए । नेकपा वाग्मती प्रदेश संसदीय दलका उपनेता जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव छलफलका लागि पेस भइसकेकाले तत्काल बैठक राखेर यस प्रक्रिया अगाडि बढाइनुपर्ने बताए ।

एक दिनअघि प्रदेश सभाले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गरिएको जनाएको थियो । प्रदेशसभाको अर्को बैठक सभामुख श्रेष्ठले सोमबार अपराह्न २ बजे बस्ने गरि स्थगन गरेका थिए । प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा आउँदो फागुन ५ गते अपराह्न २ बजेका लागि सरेको छ ।

उपसभामुख राधिका तामाङले भने बैठक स्थगन गर्नेबारे आफूलाई पूर्वजानकारी नभएको बताइन् । बैठक स्थगनको खबरबारे आफू बेखबर रहेको उनले पत्रकारलाई जानकारी दिइन् ।

प्रतिक्रिया