राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव

admin

काठमाडौं, माघ २० : निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो ।

सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्तज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मात्रै निर्वाचनमा जान आयोगलाई सुझाए ।

त्यस्तै उनले आयोगलाई निर्वाचनको तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा जोड दिए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दलले पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया