काठमाडौं, २० माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ । प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेतासहित आफूहरुले आयोग पुगेर आधिकारिकता दाबी गरेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिएका छन् ।
सोमबार बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिएको नेता पोखरेलले बताए । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने बताउँदै आएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । त्यसलगत्तै नेकपा औपचारिक रुपमै दुई समूहमा विभाजित भएर गतिविधि अघि बढाएका छन् । यसअघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहले गरेका निर्णयलाई अस्वीकार गरेको थियो ।
आज प्रचण्डविरुद्ध परेको अपहेलनाको मुद्दामाथि बहस हुने
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको परेको मुद्दामाथि मंगलबार बहस हुने भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ । गएको शुक्रबार विराटनगरको सभामा दाहालले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका थिए ।
दाहालले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताएका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।