पोलियो थोपाको साटो स्यानिटाइजर खुवाएपछि, बालबालिका अस्पताल भर्ना

admin

एजेन्सी, २० माघ : भारतको महाराष्ट्रस्थित एक गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना बालबालिकालाई पोलियो थोपाको सट्टा स्यानिटाइजर पिलाएको घटना बाहिर आएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम छ । बान्ता र असहज महसुस गरेपछि उनीहरुलाई जिल्ला अस्पताल भर्ना गरिएको छ ।

उनीहरुको स्वास्थ्यस्थिती स्थिर भएको बताइएको छ । डाक्टरको समूहले उनीहरुको निगरानी गरिरहेको छ । भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

घटना आइतबारको हो । आइतबार पोलियो थोपा खुवाउने कार्यक्रम थियो । एकदेखि ५ वर्षसम्ममा दुई हजार शिशु तथा बालबालिका पोलियो थोपा केन्द्रमा आइपुगेका थिए । पोलियो थोपा खुवाएपछि केही बच्चाहरुमा स्वास्थ्य समस्या देखियो । कोही उल्टी गर्न थाले त कसैको छातीमा समस्या देखिन थाल्यो । पोलियो थोपा खुवाएको केही बेरमा त्यस्तो हुन थालेपछि त्यहाँका स्वास्थ्यकर्मी आत्तिन थाले ।

समस्या देखिएका बच्चाहरुलाई वसंतराव नाइक गभर्मेन्ट कलेज एन्ड हस्पिटलमा भर्ना गर्न लगियो । त्यसको भोलिपल्ट सोमबार जब पोलियो अभियान लिएर आएका समूहलाई यसबारे जानकारी दिइयो तब उनीहरुलाई आफ्नो गल्ती महसुस भएको र उनीहरुले दोस्रोपटकमा ती बालबालिकालाई पोलियोको थोपा खुवाए ।

यो विषयमा भानबोरा प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टर, आंगनवाडीकी एक सेविका र एक कार्यकर्ताविरुद्ध अनुसन्धानको आदेश दिइएको छ । यवतमालका सामाजिक कार्यकर्ता किशोर तिवारीले आफूले स्वास्थ्यमन्त्री राजेश टोपेलाई भेट गर्ने र दोषीमाथि कारवाहीको माग गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया