नख्खु कारागारमा रहेका विप्लव समूहका नेतासँग मन्त्री थापाको भेट, प्रचण्ड-नेपालका नेताको यस्तो टिप्पणी

admin

काठमाडौं, २० माघ : खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली सुदर्शनसँग भेट गरेका छन् । मन्त्री थापा मंगलबार नख्खु कारागारको भ्रमण गरी त्यहाँको पानी र सरसफाइको समस्याको बारेमा जानकारी लिन पुगेका थिए ।

मन्त्री थापाले वली आफ्नो पुरानो साथी भएकाले भेटेको बताएका छन् । कारागार प्रशासन र कैदीबन्दीको आग्रहअनुसार भ्रमणमा आएको मन्त्री थापाले बताए । कारागारमा सफाइ तथा अन्य व्यवस्थापन के कस्तो छ र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा मात्रै कुराकानी भएको र अन्य राजनीतिक विषयमा कुनै कुराकानी नभएको उनले बताए ।

करिब २ हजारको हाराहारीमा रहेका कैदीबन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उनले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महशुस गरेको पनि बताए ।

प्रचण्ड-नेपालका नेताको यस्तो टिप्पणी
खानेपानीमन्त्री मणि थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेको विषयमा पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य युवराज चौलागाईंले तीखो टिप्पणी गरेका छन् । प्रवास कमिटीका अध्यक्ष समेत रहेका चौलागाईंले मंगलबार मध्याह्न सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्रको जस्तै शैली अपनाएको टिप्पणी गरेका हुन् । उनले तत्कालीन राजा महेन्द्रले जस्तै ओलीले आफैँ थुन्ने र फेरि आफैँले सहानुभूति दिएझैँ गरेको भन्दै नाटक गरेको बताएका छन्।

‘नेकपा (विप्लव समूह) विरुद्ध प्रतिबन्धको घोषणा ओली सरकारको दक्षिणपन्थी अतिवादी कदम थियो’, चौलागाईं लेख्छन्, ‘एकातिर देशमा भर्खरै नयॉ संविधान जारी भई नयॉ र प्रगतिशील राजनैतिक व्यवस्था लागू भएको अवस्था र अर्कोतिर बीआरआई र आईपीएसको प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा ओली सरकारको कदमले मुलुकलाई किमार्थ फाइदा गर्दैन भनेर मैले पार्टीभित्र, सरकारलाई र सार्वजनिक रुपमा समेत छलफल चलाएको थिएँ।’

त्यो काम संविधानको ‘स्पिरिट’ र देशको आवश्यकताबाहिरको रहेको त्यतिबेलै आफूले भनेको चौलागाईंको दाबी छ । ‘तैपनि केपी ओली र राम बहादुर थापाको गलत दृष्टिकोणका कारण विप्लवको दलमाथि प्रतिबन्ध मात्र लगाइएन, आस्थाको आधारमा सयौँ गिरफ्तारीले मात्र नपुगेर झूठो मूठभेडमा कुमार पौडेललगायत राजनैतिक व्यक्तिहरुको गैरन्यायिक हत्या समेत गरियो’, उनी अगाडि लेख्छन्, ‘अहिले केपी ओली कुन नैतिकताले विप्लवप्रति नरम भएको नाटक गर्दै छन् ?’

मन्त्री थापाको कदमप्रति संकेत गर्दै उनले मन्त्रीहरु जेल चहारेर अन्यायपूर्वक थुनिएका राजनैतिक नेताहरुसँग संवादको नाटक गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘यो त राजा महेन्द्रले गरेको जस्तो आफैँ थुन्ने, आफैँ सहानुभूति दिने नाटक भएन र ?

खानेपानी मन्त्री थापाले मंगलबार बिहान ललितपुरको नख्खु कारागार गएर विप्लवका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए । एनसेलको कार्यालयमा बम विष्फोट गराएको आरोपमा वली पक्राउ परेका थिए । सोही अभियोगमा उनी नख्खु कारागारमा छन् ।

प्रतिक्रिया