काठमाडौं, २० माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।
मङ्गलवार (आज) न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नभ्याएपछि पेसी सरेको हो । प्रचण्डविरुद्ध साेमवार (हिजो) अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गर्नुभएको थियो ।
गएको शुक्रवार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नुभएको हो । प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्याे उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताउनुभएको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्व चारप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।