‘अन्तर्राष्ट्रिय दबाबले म्यानमारको अवस्था झनै बिग्रिन्छ’

admin

एजेन्सी, २१ माघ : म्यानमारमा भएको सैन्य ‘कू’ को निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निकाल्न लागेको वक्तव्य चीनले रोकिदिएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले सोमबार आङ साङ सू ची र अन्य नेताहरूलाई पक्राउ गरि शासन सत्ता कब्जा गरेको थियो । म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेपछि राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठक बसेको हो ।

सुरक्षा परिषदको स्थायी सदस्यका रूपमा चीनसँग भिटो शक्ति रहेकाले संयुक्त वक्तव्यका लागि चीनको सहमति चाहिन्छ । चीनले म्यानमारमा प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबले अवस्था झनै बिग्रने बताएको खबरमा उल्लेख छ । सेनाको कदमविरुद्ध म्यानमारमा पनि प्रदर्शनहरू भएका छन् तर सुरक्षा व्यवस्था अति नै कडा भएकाले अवस्था सेनाको पूर्ण नियन्त्रणमा रहेको बताइएको छ ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सू चीको पार्टी अत्यधिक बहुमत ल्याएर विजयी भएको थियो । तर चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिन बिहानै सत्ता कब्जा गरेको हो ।

प्रतिक्रिया