झण्डै सात अङ्कले घट्यो नेप्से

admin

काठमाडौं, २१ माघ : शेयर बजार परिसूचक नेप्से झण्डै सात अङ्कले घटेको छ । बुधबार दिनभरिको उतारचढावपछि बन्द हुने बेलामा नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव ९२ विन्दुमा झरेको हो । कारोबार सुरु भएको केही बेरमै नेप्से २५ सय १९ विन्दुसम्म पुगेको थियो ।

बुधबार बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । व्यापार समूहको शेयर ६५ अङ्कले, होटलको ३० अङ्कले, विकास बैंकको ११, फाइनान्सको १९, जीवन बीमाको एक सय ९७, निर्जीवन बीमाको एक सय तीन, उत्पादनको एक सय एक र अन्य समूहको शेयर १७ अङ्कले घटेको छ ।

बुधबार दुई सय दुई कम्पनीका दुई करोड २० लाख कित्ता शेयर नौ अर्ब ५३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो । पोखरा फाइनान्सका शेयरधनीले झण्डै आठ प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया