चुनाव गराउन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ बजेट

admin

काठमाडौं : आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ ।


आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएको छ ।

कोरोना महामारीको समयमा चुनाव सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा खर्च धेरै लाग्ने भए पनि विगतका चुनावमा भएका खर्चभन्दा मितव्ययी हुने गरि चुनावको तयारी गरिएको आयोगले जनाएको छ ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफललाई आधार मानेर चुनाव सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यहरूका लागि मात्र बजेट माग गरिएको आयोगले जनाएको छ ।

विगतका चुनावमा प्रयोग गरि अहिले मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरि प्रयोग गर्ने व्यवस्था गरिएकाले नयाँ सामग्री, उपकरण र गाडी खरिद गर्ने रकम बजेटमा समावेश गरिएको छैन ।

आयोगले कोरोना महामारीबाट बच्ने सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।

प्रतिक्रिया