काठमाडौं, २२ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्किएका छन् । आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उनी निस्किएका हुन् ।
पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् । बुधबारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।
अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्तालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता-कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड-नेपाल समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।
प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।