देशभर आमहड्तालको प्रभाव, काठमाडौं उपत्यकाबाट १५० भन्दा बढि नेता-कार्यकर्ता पक्राउ

admin

काठमाडौं, २२ माघ : नेकपाको प्रचण्ड-नेपाल समूहले बुधबार आह्वान गरेको आमहड्तालको प्रभाव सहरी क्षेत्रमा परेको छ । ग्रामिण क्षेत्रमा निर्बाधरुपमा गाडी चलेका छन् भने सहरी क्षेत्रमा भने कम मात्रै सार्वजनिक गाडी चलेका छन् । काठमाडौंसहित मुख्य सहरमा गाडी कम चलेका छन् । पसल पनि पुरै खुलेका छैनन् ।

काठमाडौंको चक्रपथसहित विभिन्न रुटमा सार्वजनिक गाडी केही चलेका छन् । तर अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् । धेरै शिक्षण संस्था बन्द छन् । परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन् ।

प्रदेश १ को विराटनगर, धरानलगायतका ठाउँमा शिक्षण संस्था र यातायातबाहेक अरु क्षेत्रहरु खुलेका छन् । आन्दोलनकर्ताहरु सडकमा केही मात्रामा देखिए पनि विरोध प्रदर्शनहरु धेरै नभएको प्रहरीले जनाएको छ । प्रदेश १ मा केही उद्योग तथा कलकारखानाहरु खुलेका छन् ।

प्रदेश २ मा पनि कार्यकर्ताहरु विरोधका कार्यक्रमसहित खासै सडकमा देखिएका छैनन् । प्रदेश २ को सर्लाहीमा केही गाडीहरु चलिरहेका छन् भने पसलहरु पनि केही मात्रामा खुलेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गरेका छन् ।

सडक, विद्यालय, उद्योग कलकारखानाहरु सबै बन्द रहेका छन् । धादिङको राजमार्ग क्षेत्रमा गाडी नचले पनि ग्रामिण क्षेत्रमा गाडी चलेका छन् । अरु जिल्लाका पनि ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन । गण्डकी प्रदेशको पोखराबाट एकजना पक्राउ परेका छन् । अहिले अवस्था सामान्य रहेको र केही दुई पाङ्ग्रे गाडीहरु चलेका प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, कपिलवस्तुलगायतका ठाउँमा बन्दको आंशिक प्रभाव परेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले अवस्था सामान्य छ । सडकमा गाडी कम चलेका छन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरलगायत जिल्लाको अवस्था पनि अहिले सामान्य नै रहेको छ । राजमार्गमा गाडी चलेका छैनन् भने पसल, उद्योग तथा कलकारखानाहरु पनि खुलेका छैनन् ।

डडेल्धुरामा बन्दको प्रभाव सामान्य रहेको छ । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि प्रहरीको स्कर्टिङमा गाडी चलेको छ । यस्तै चितवनमा बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन् ।

आमहड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० भन्दा बढी नेता-कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले बिहीबार एकदिने आमहड्तालको घोषणा गरेको हो । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, विजय पौडेल लगायत १ सय ५० बढी नेता-कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।

प्रतिक्रिया