यूएन महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान

admin

एजेन्सी, २२ माघ : संयुक्त राष्ट्र सङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरसले गएको सोमबार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् ।

उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् । ‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’, उनले भने, ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्णरूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिरफ्तार गरेको थियो । म्यानमारको प्रहरीले सू चीविरुद्ध विभिन्न अभियोग लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् । सेनाले सत्ता हातमा लिएपछि सू ची र राष्ट्रपति विन मिन्टका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन् ।

म्यानमारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागू गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । त्यस चुनावमा सू चीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक मत ल्याएको थियो ।

गएको नोभेम्बरको चुनावबाट संसद्को तल्लो र माथिल्लो दुवै सदनका कुल चा सय ७६ स्थानमध्ये सू चीको दल एनएलडीले तीन सय ९६ स्थान जितेको छ । सन् २००८ को संविधानबमोजिम सेनालाई संसद्को कुल स्थानको २५ प्रतिशत छुट्याइएको छ । साथै कतिपय महत्त्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ ।

सेनाले फेसबुकलाई प्रतिबन्ध गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । ‘कू’ को विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् ।

प्रतिक्रिया