पशुपतिमा पूजा र प्रधानमन्त्री पछिल्लो चालबारे यसो भन्छन् ज्योतिष

admin
  • ज्योतिष सुरेशचन्द्र रिजाल

पारित संविधान २०७२ को जन्म कुण्डली प्राचीन कालदेखि नै कुनै महत्त्वपूर्ण बिषयमा निर्णय गर्दा ग्रह राशि तथा नक्षत्र हरुलाई अध्ययन गरी समयको विशेष मुहुर्त निर्धारण गर्नुपर्ने शास्त्रीय नियम रहेको छ। छिमेकी देश भारतमा तात्कालिन प्रधानमन्त्री जवहरलाल नेहरुको विशेष आग्रहमा ज्योतिषी सूर्यनारायण व्यासले भारतीय स्वतन्त्रता घोषणा गर्ने तिथि, बार, नक्षत्र, योग र करणको अध्ययन गरी १५ अगस्ट १९४७ राति १२ बजेको समयमा शुभ मुहुर्त निर्धारण गरिएको थियो।

भारतमा जतिसुकै संकट पर्दा पनि लोकतन्त्रमा आंच नआएको भन्दै उक्त समयको लग्न र मुहुर्तको निक्कै प्रशंसा हुने गरेको छ। कुनै पनि काम बिग्रेपछि बनाउन धेरै गार्हो हुन्छ तर काम नबिग्रियोस् भन्नका लागि ज्योतिष शास्त्रमा धेरै उपायहरु छन् यसको उपयोग थोरैले मात्रै गर्ने गरेका छन्।

सबै नक्कल भारतबाट सिकेर देश चलाउनेहरु शुभ साइतको नक्कल गर्न चुके या भारतीयले तयार पारेको अशुभ तिथि मितिमा संविधान जारी भयो यो बहसकै विषय होला। २०७२ साल भाद्र ३० गते बुधबार बेलुका ८ बजेर ५७ मिनेटमा नेपालको संविधान पारित भएको थियो।

संविधान पारित भएको समय नै संविधानको जन्म समय हो। जसरी मानिसको जन्मसमय अनुसार शुभाशुभ विचार गरिन्छ त्येसैगरी नेपालको संविधान पनि पारित भएको समयको मुहुर्त अनुसार नै बिचार हुन्छ। ज्योतिष शास्त्र अनुसार कस्तो साइतमा नेपालको संविधान जारी भएको रहेछ भनेर विचार गर्दा भाद्र ३० गते बेलुका ८ बजेर ५७ मिनेटमा काठमाडौंको पूर्व क्षितिजमा मेष लग्नको अंशादि २७|६|२४ उदित भएको थियो। नवमांश पनि यो अन्तिम नवमांश हो जसलाई शास्त्रले अत्यन्तै अशुभ मान्दछ। संविधान जारी भएको समयमा पनि चतुर्थी तिथि उदित थियो। संविधान जारी भएको चतुर्थी तिथिका बारेमा यस्तो भनिएको छ शास्त्रमा- ‘

तृतीया रोग्यदात्री च हानिदा च चतुर्थिका”।।
त्यस्तै अर्को श्लोकमा चतुर्थीका बारेमा भनिएको छ – ‘कर्तव्यं तच्चतुथ्यां तु नैव सन्मङ्गलं क्वचित्’।

माथि भनिएका श्लोकका अनुसार देशमा यो संविधानले अनिष्ट निम्त्याउने स्पस्ट पारेको छ। पारित संविधानको कुण्डली विचार गर्दा लग्नेश मंगल निचो हुनु, दशमेश शनि अष्टम भावमा बस्नु, चन्द्रमा पापान्त पीडित हुनु, देवगुरु बृहस्पति र सूर्य पाप कर्तरी दोषमा भई शनिको पूर्ण दृष्टिमा हुनु नेपालको राशि बृश्चिकबाट चन्द्रमा बार्हौ राशिमा पर्नु लगाएतका योगका कारणले शुभ भन्दा अशुभ योगको बाहुल्यता धेरै देखिएको छ।

यसरी हेर्दा एकमात्र राम्रो योगका रुपमा छैटौं स्थानमा रहेको राहुका कारण शत्रु नाशका योगका कारण छिमेकी राष्ट्रहरुले नचाहँदा नचाहँदै पनि संविधान जारी हुन सक्यो। राहुसँग बसेको उच्च बुधका कारण सत्रुसँग प्रतिस्पर्धा धेरै हुने योग बनेको हो। संविधान जारी भएदेखि २०७५ साल जेठ २९ सम्म राहुको अन्तरदशा चलिरहेको थियो।

जेठ ३० पछि धर्मेश बृहस्पतिको अन्तरदशा सुरु हुँदा धार्मिक क्षेत्रलाई शुभफल प्रदान हुने ज्योतिषहरुले विश्लेषण गरेका थिए। नेपालको संविधानमा धार्मिक क्षेत्रलाई ओझेलमा पारेता पनि धार्मिक व्यक्तिहरु निराशा हुनु नपर्ने भन्दै विश्लेषण गरिएको थियो।

अहिले २०७७ साल कार्तिक २० देखि राहु अन्तर चलिरहेको बृहस्पतिको दशा समाप्त भएको छ र नेपालको साढे साति दशा पनि कार्तिक २९ देखि सकिएकाले पुन: देशमा धार्मिक कृयाकलाप सुरु भयो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा तथा लक्ष्य बत्ती पनि बालेका थिए। निश्चित संकल्प लिएर लक्ष्य पूर्ण होस भनेर लक्ष्य बत्ती बालिन्छ।

अशुभ समयमा पारित भएको संविधान पनि यतिबेला कमजोर भएको छ। यहीँ अनुसार २०७८ साल वैशाख ५ गतेभित्र देशमा अर्को नाटकीय परिवर्तन हुने देखिन्छ।
– रिजाल वास्तुविद् तथा दक्षिण एसियाली महासंघ नेपालका महासचिव हुन्।

प्रतिक्रिया