सरकार संविधान, नियम कानुन उल्लङ्घन गर्दै गु’ण्डागर्दी शैलीमा अघि बढेको छ : दाहाल

admin

काठमाडौं, २३ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् । काठमाडौंमा शुक्रबार पत्रकारसँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरेको बताएका हुन् ।

यद्यपि गल्ती, कमजोरीलाई सच्याउँदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ आफू अघि बढेको उनको दाबी छ । बिस्तारै कार्यकर्ताहरूले सही–गलत छुट्याउन थालेकाले निराश हुने अवस्था नरहेको दाहालले स्पष्ट पारे । उनले भने, ‘देशमा ठूलो खतरा निम्तिएको छ । कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरे । केपीजीले आ’त्मसमर्पण गरेकै हो ।’

उनले लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न नै मूल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिँड्ने सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुन सक्ने सङ्केत गरे । उनले भने, ‘सरकारले प्रतिनिधि सभा विघटन गरेर देशलाई ठूलो राजनीतिक र संवैधानिक सङ्कटमा धकेल्ने काम भएको छ । प्रकारान्तले यो देशमा फेरि गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीजीले ?’

‘यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भङ्ग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । यस अर्थमा विषय गम्भीर देख्छु । केपीले निर्णय गरे, प्रचण्ड-माधवले विरोध गरे । भनेको जस्तो सामान्य होइन । शान्ति र संविधानसँग जोडिएको विषय भएकाले तेस्रो जनआन्दोलन हुन्छ–हुँदैन भन्दा नि यो इस्युलाई सच्याइन्छ कि सच्याइँदैन भन्ने हो ।’

उनले पार्टी विधान विपरीत प्रधानमन्त्री ओलीले एकपक्षीय ढङ्गले आफू एक नम्बरको अध्यक्ष भन्दै हिँडेको बताए । महाधिवेशनसम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहे पनि एक र दुई नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुई वटा बराबरी भन्ने हो । विधानमा पनि दुई वटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् । म पनि त्यस्तै छु । सोझो भन्ने कि ? लाटो भन्ने कि ? भावुक भन्ने कि ? उदार भन्ने कि ? तपाईँभन्दा तीन वटा भोटा मैले बढी फटाएको छु । मलाई १ मा राखिदिनुन त, के भो त ? भनेपछि मैले मान्दिएँ । निर्वाचन आयोगमा १ नम्बर भन्नुहुन्छ भन्ने भएको भए । ज्यान जाला मान्दिनथेँ ।’

नेता दाहालले सरकार संविधान, नियम कानुन उल्लङ्घन गर्दै गुण्डागर्दी शैलीमा अघि बढेको आरोप लगाए । आफू एमसीसीको समर्थनमा नगएको र पार्टीले पनि निर्णय नगरिसकेको उनले स्पष्ट पारे । सरकारका असंवैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आह्वान गरिएकाले त्यसैमा केन्द्रित हुन आफूले कार्यकर्तालाई भनेको उनको भनाइ छ ।

उनले भने, ‘संवैधानिक परिषदमा भएको ज्या’दतीपूर्ण निर्णय । म त भन्छु त्यो त गु’ण्डागर्दी टाइपको छ । पत्रकार साथीहरू यो सामान्य खालको छैन । सभामुखले यो सुनुवाइ समिति पनि नभएको, प्रक्रिया पनि नपुगेको भनेर फिर्ता पठाएको स्थिति छ । यो बेला १० थरीका नारा लगाउनुभन्दा नारा जे आन्दोलनको ठोस कार्यक्रमको हो त्यही केन्द्रित गरौँ भन्या हो मैले । त्यसको अर्थ म एमसीसीको समर्थनमा गएँ, मैले नीति बदलेँ भन्ने कुरा होइन ।’

प्रतिक्रिया