काठमाडौं, २३ माघ : उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार गरेको आमहड्तालमा भएको क्षतिको सरकारले क्षतिपूर्ति गर्ने बताएका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौंमा आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबारको आमहड्तालमा भएको क्षतिको क्षतिपूर्ति सरकारले गर्ने बताएका हुन् ।
काठमाडौंमा तोडफोड भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उनको भनाइ छ । उनले नागरिकलाई दुःख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपूर्ति गर्ने पनि बताए । उपप्रधानमन्त्री पोखरेलले आफूहरूको लडाइँ अराजकताविरुद्ध भएको बताए । आफूहरू देशलाई आर्थिक समृद्धितर्फ जान नचाहनेहरूको विरुद्ध, देशलाई अस्थिरतातर्फ लैजाने दुष्प्रयासको विरुद्ध लडाइँ लडिरहेकोले लडाइँलाई कमजोर हुन नदिने उनको भनाइ छ ।
उपप्रधानमन्त्री पोखरेलले नेकपाको आधिकारिकता आफूहरूले पाउने दाबी गरे । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उनको भनाइ छ । ओलीले नेतृत्व गरेको सूर्य चिह्न लिएर नागरिकको ताजा जनमतमा जाने पनि उनको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतदेखिकै अवसरवाद जिम्मेवार रहेको बताए । जतिसुकै छलछाम र षड्यन्त्र गरे पनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उनको भनाइ छ ।
यसैक्रममा उपप्रधानमन्त्री पोखरेलले घोषणा गरिएको चुनावको सामना गर्न चुनौती दिएका छन् । पोखरेलले घोषित चुनावलाई चुनौती दिँदै नहिँड्न अपिल गरे । ‘निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–नेपाल समूहले चुनौती दिनुभएको छ, निर्वाचन आयोगलाई धम्की दिइरहनुभएको छ,’ उनले भने, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताए ।
पोखरेलले मृत्युमा जीवन खोज्ने प्रचण्ड र कुण्ठालाई प्रतिनिधित्व गर्ने माधव नेपालको मिलन कम्युनिष्ट आन्दोलनका लागि बाधक भएको टिप्पणी गरे । पोखरेलले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन अगाडि नै हटाउने षड्यन्त्र भएपछि नयाँ परिस्थिति सिर्जना भएको बताए । उनले प्रतिकूलताका बीच पनि आफूहरुले स्थायित्वका लागि काम गर्ने जिकिर गरे ।