दिउँसोको समयमा गर्मी बढ्न सक्ने

admin

काठमाडौं, २५ माघ : हिमपातका कारण देशका धेरै ठाउँमा चिसो छ । (हिजो) शनिबार काठमाडौंसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ परेको छ ।

मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ । सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीबार, शुक्रबारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद् सजिना शाक्यले बताए । उनकाअनुसार अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ । तर, अहिले बाक्लो हिमपात भएको ठाउँ र तराईका केही जिल्लामा भने केही दिन चिसो नै हुने उनले बताए ।

प्रतिक्रिया